दार्चुला जिल्लाको परिचय
दार्चुला जिल्लाको परिचय :- सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये दार्चुला जिल्ला एक महत्वपूर्ण जिल्ला हो। आर्थिकरूपमा संसारका दुई शक्तिशाली राष्ट्र भारत र चीन (तिब्बत) सँग जोडिएको यो जिल्ला व्यापारिक तथा सांस्कृतिक हिसाबले पनि निकै महत्वपूर्ण छ। यस जिल्लामा १ प्रतिनिधि सभा क्षेत्र, २ प्रदेशसभा क्षेत्र, २ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् ।
तिब्बतसँग व्यापार गर्ने मुख्य द्वार (नाका) व्याँस क्षेत्र भएकाले यहाँको नाम दार्चुला रहन गएको भन्ने मान्यता छ। ‘द्वार’ (गेट) र ‘ला’ (पहाड) शब्द मिलेर दार्चुला नाम बनेको स्थानीयको भनाइ छ।
भौगोलिक तथा जनसांख्यिक विवरण :-
क्षेत्रफल: २७८२.२८ वर्ग कि.मी. जनसंख्या: १,३३,२७४ पुरुष: ६३,६०५ महिला: ६९,६६९ वार्षिक जनसंख्या वृद्धिदर: ०.९०५% साक्षरता दर: ९५.५% पुरुष: ९४.६% महिला: ९६.४% खानेपानी पहुँच: ८३% विद्युत पहुच: ४०% सौर्य ऊर्जाको प्रयोग: ३३.५५% गरीबी रेखामुनि जनसंख्या: ५३% प्रतिव्यक्ति आय: ६२७ अमेरिकी डलर मानव विकास सूचकाङ्क (HDI): ०.५०२ कृषियोग्य जमिन: १२% मात्र उच्च हिमाली भेगमा यार्सागुम्बा, जडीबुटी संकलन तथा पशुपालन यहाँका प्रमुख आम्दानीका स्रोत हुन्।
मुख्य सडक मार्ग दार्चुला–तिंकर खलंगा–दल्लेख–गोकुले बलाँच–लटिनाथ–परीबगर दत्तु–जोलजीवी–लाली गोकुले विमानस्थल (हाल सञ्चालनमा छैन)
नामाकरणसम्बन्धी किम्वदन्ती :- स्थानीय मान्यताअनुसार यहाँका तीन पहाडका चुचुरा चुल्हो (चुलो) जस्तै देखिन्छन्। व्याँस हिमालमा तपस्या गरिरहेका व्याँस ऋषि फर्कँदा यी तीन धारका ‘चुल्हो’ जस्तै स्थानमा भात पकाएर बसेको कथन छ। त्यसैले यस ठाउँको नाम ‘धारचुला’ परेको र पछि उच्चारण विकृत हुँदै ‘दार्चुला’ बनेको भनाइ पाइन्छ।
दार्चुला जिल्लामा पाइने प्रमुख वनस्पति देवदार, बाज, सल्लो, साल, टुणी, उतीस, सिमल, चिउरी, लालीगुराँस, बाँस, कोइरालो, साज, सानन, धुईयो, मौनेठी, पैंयो, जामुन त्यसैगरी जडीबुटीमा— यार्सागुम्बा, पाँचऔँले, झयाउ, भूतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पाषाणवेद, पदमचाल, दारुहल्दी, तितेपाती, गुच्छी च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतकचिनी, कुटकी, काफलबोक्रा, ओखरबोक्रा, धुपीपात, तेजपात, रिठ्ठा आदि भेटिन्छन्। धार्मिक तथा पर्यटकिय क्षेत्रहरू दार्चुला प्राकृतिक, ऐतिहासिक र धार्मिक स्थलले अत्यन्त समृद्ध जिल्ला हो।
प्रमुख स्थानहरू
— अपी हिमाल (७१३२ मि.) – घुसा व्याँस हिमाल (६७७० मि.) - नाम्पा (६७५४ मि.) सुरमासरोवर ताल – खण्डेश्वरी महाल भग्नावशेष – उकु र देवल धर्मी गुफा – खण्डेश्वरी मालीकार्जुन मन्दिर – मालीकार्जुन हुनेनाथ मन्दिर – हुनेनाथ गोकुलेश्वर शिव मन्दिर लटिनाथ मन्दिर – लटिनाथ जयपुर मन्दिर, बन्तोली मन्दिर आदि
मुख्य पर्व: गोकुले शिवरात्री मेला, गौरा पर्व, विसु जात्रा, दुहुँ जगेनी जात्रा यहाँ क्षेत्री–ब्राह्मण तथा शौका आदिवासी/जनजातिको मौलिक संस्कृति कायम छ।
दार्चुला जिल्लाका स्थानीय तहहरू
१. महाकाली नगरपालिका केन्द्र: साविक अपि नगरपालिका जनसंख्या: २४,०८१ क्षेत्रफल: १६७१.६ वर्ग कि.मि. वडा संख्या : ९
नेपाल को संविधान वमोजिम राज्य पुनः संरचना भए वमोजिम सुदुरपश्विम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा,छापरी, काँटै धाप र दत्तु (साविक अपी नगरपालिका वडा नं. ४ देखि १७ सम्म र दत्तु गा.बि.स.) लाई समायोजन गरेर हिन्दुहरुको पबित्र धर्मस्थल मानसरोबरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरु मा विभाजन महाकाली नगरपालिकाको मिति २०७३/११/२७ गते घोषणा भएको नगरपालिका हो । यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहूँ गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका र मालिकार्जुन गाउँ पालिका संग सिमाना जोडिइ महाकाली नदीको किनारमा अवस्थित नगरपालिका विश्वमानचित्रमा २९ डिग्री ३६ मिनेट देिखि २९ डिग्री ४५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २४ मिनेट देिखि ८० डिग्री ३९ मिनेट पुर्वि देशान्तर सम्म फैलिएको छ ।
महाकाली नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ । धार्मिक एवं साँस्कृतिक शक्ति पिठहरु मौलिक साँस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले महाकाली नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रकृतिको अनुपम नमुनाको रुपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी धर्मावलम्बिहरुको साझा बसोबास रहेको छ ।
सम्पर्क :- प्रमुख प्रशासकीय अधिकृत 9858720111,9764435971 सूचना अधिकारी 9848877474, नगर प्रमुख 9848896277, नगर उपप्रमुख 9848775235
२. शैल्यशिखर नगरपालिका केन्द्र: गोकुलेश्वर जनसंख्या: २१,०८७ क्षेत्रफल: ११७.७९ वर्ग कि.मि. वडा संख्या : ९
सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको साविकका गोकुलेश्वर, वोहरीगाँउ, ग्वानी, देथला, शिखर र रानीशिखर गरी ६ वटा गा.वि.स.साविकको संरचनालाई गाभि मिति २०७३ फागुन २७ मा स्थापना भएको शैल्यशिखर नगरपालिका हिन्दुहरुको मुख्य एवम् पवित्र धार्मिक तिर्थ स्थल जगतपुरी शिवधामको प्रवेश द्वारको रुपमा वैतडी जिल्ला संग सिमाना जोडिइ चौलानी नदीको किनारमा अवस्थित नगरपालिका विश्वमानचित्रमा २९ डिग्री ४० मिनेट उत्तरी अक्षाश र ८० डिग्री ३३ मिनेट पुर्वि देशान्तर सम्म फैलिएको यस नगरपालिकाको पूर्वमा मार्मा गाउँपालिका, पश्चिममा लेकम,गाँउपालिका र मालिकार्जुन गाँउपालिका उत्तरमा नौगाड गाउँपालिका र महाकाली नगरपालिका दक्षिणमा दार्चुला र वैतडी जिल्लाको सिमानामा रहेको चमेलिया नदि संग बैतडी जिल्ला सिमाना जोडिएको छ।
उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ ।किमदन्ति अनुसार दार्चुला जिल्ला सदरमुकाम खलङ्गा स्थित नेपाल तर्फका दुई पहाड र भारत तर्फको एक पहाड फेदिवाट हेर्दा धार परेको जस्तो स्थानिय चुल्होको आकारमा चुचुरो देखिन्छ।प्राचिन कालमा शैल्यशिखर हिमालवाट शैल्यशिखर ऋषि तपस्या गरी फर्कदा यी तीन धारहरुको चुल्हो वनाई भात पकाई खाएको पौराणिक कथन रहेको छ ।स्कन्द पुराणमा अर्जुन पर्वतको वारेमा उल्लेख गरेको पाईन्छ।हालको महाकाली नगरपालिका अन्तर्गत दत्तु र धापको टुप्पो,मालिकार्जुन गाउँपालिका अन्तर्गत मडको टुप्पो र शैल्यशिखर नगरपालिका अन्तर्गत ग्वानीको टुप्पो शिखर रहेको करिव १२ देखी १५ कि.मी.को दुरीमा फैलिएको लामो नागवेलि आकारका बलशिखर,न्वालिपानि,मौतामौती शिखरहरुको मिश्रित रुप नै पौराणिक अर्जुन पर्वत हो।
शिव मालिकार्जुन अवतारको रुपमा यस क्षेत्रमा विराजमान रहेका कुरा स्कन्द पुराण मानसखण्डले पनि पुष्टी गरेको छ ।यसै पर्वतमा पार्वती रुप मालिकादेविको समेत वास गरेकोले अर्जुन र मालिकाको समेत वास भएकोले अर्जुन र मालिकाको योगले यस क्षेत्रलाई शैल्यशिखर मालिकार्जुन नाम रहन गएको किमदन्ति रहेको पाईन्छ ।धार्मिक एवं साँस्कृतिक शक्तिपिठहरु मौलिक साँस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले शैल्यशिखर नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रकृतिको अनुपम नमुनाको रुपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाती, भाषाभाषी धर्मावलम्बिहरुको साझा बसोबास रहेको र दार्चुला जिल्लाको सदरमुकाम पछिको द्रोश्रो ठूलो शहरको रुपमा चिनिने गरिन्छ ।
सम्पर्क विवरण Email ID:- shailyashikhar.gov@gmail.com ito.shailyashikharmun@gmail.com Phone No.:- 093-400086 Facebook:- shailyashikhar minicipality
३. मालिकार्जुन गाउँपालिका केन्द्र: शंकरपुर जनसंख्या: १५,६३५ क्षेत्रफल: १००.८१ वर्ग कि.मि. वडा संंख्या: ८
मालिकार्जुन गाउँपालिका एक ऐतिहासिक,राजनैतिक,प्राकृतिक,साँस्कृतिक तथा धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण गउँपालिका हो । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले, साविकका मालिकार्जुन गा.वि.स , डाडाकोट गा.वि.स ,उकु गा.वि.स , भगवती गा.वि.स, हुनैनाथ गा.वि.स र शंकरपुर गा.वि.स भित्र पर्ने सम्पुर्ण क्षेत्र ओगटेको छ। यस मालिकार्जुन गाउँपालिकाको पुर्वमा शैल्यशिखर नगरपालिका,पश्चिममा पवित्र माहाकाली नदि (भारत सिमाना),उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका र केहि भाग शैल्यशिखर नगरपालिकाको रहेको छ । यस मालिकार्जुन गाउँपालिकामा पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालकै सातौ धाम मालिकार्जुन,विभिन्न देवीदेवताका मन्दिरहरु ,खोलानाला , वनजंगलहरु, ढुङ्गा/ स्लेट,जडीबुटि,वन पैदावर,कृषि,पशुपालन,नगदेबाली लगायतका थुप्रै सम्भावना रहेका छन।
सम्पर्क विवरण मालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शंकरपुर , दार्चुला, सुदूरपश्चिम प्रदेश , नेपाल Email:-mrmdarchula@gmail.com / info@malikarjunmun.gov.np 9851215869,9848999771,9868512609,9848763021
४. अपिहिमाल गाउँपालिका केन्द्र: खण्डेश्वरी जनसंख्या: ६,७९८ क्षेत्रफल: ६१३.९५ वर्ग कि.मि. वडा संख्या : ६ अपिहिमाल गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा घुसा, खाण्डेश्वरी, गुलिजार (१) र सितौला (५-८) गाविसहरू यसमा गाभिएका थिए।
जन प्रतिनिधि अध्यक्ष 986-8014567 उपाध्यक्ष 9868961567 प्रमुख प्रशाशकिय अधिकृत 9851218700 सुचना अधिकारी 9858071759 गुनासो सुन्ने अधिकारी 9860059979 more
५. दुहुँ गाउँपालिका केन्द्र: हिकिला जनसंख्या: ९,८४२ क्षेत्रफल: ६५.३५ वर्ग कि.मि. वडा संख्या : ५
नेपालको संविधान (२०७२) ले संघिय राज्यको निर्माणका साथै तीन तहको राज्य प्रणालीको व्यवस्था गरे अनुरुप दार्चुला जिल्लामा रहेका ९ स्थानीय तहहरु मध्ये दुहुँ गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित एक सुन्दर र प्राकृतिक श्रोतले सम्पन्न गाउँपालिका हो ।यस गाउँपालिका साविकका ४ गाउँ विकास समितिहरु(पिपलचौरी, हिकिला, धारी र ब्रहमदेव) मिलेर वनेको छ ।
यस गाउँपालिकालाई भौगोलिक अवस्था र जनसंख्याको अनुपात अनुसार ५ वटा वडामा विभाजन गरिएको छ । हिन्दु धर्मावलम्वीको बाहुल्यता रहेको यस गाउँपालिकामा बाहुन,क्षेत्री ठकुरी, दलित तथा अल्पसंख्यक समुदायको बसोवास रहेको छ। दुहुँ गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गरेको थियो ।
सम्पर्क विवरण दुहुँ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय हिकिला दार्चुला सुदूरपश्चिम प्रदेश नेपाल इमेलः info@duhunmun.gov.np ito@duhunmun.gov.np प्रमुख प्रशासकीय अधिकृत मोबाइल नं.: ९८५८७८७८९० सूचना अधिकारी मोबाइल नंः ९७४६२४४४९६ प्रवक्ता, ब्रहमदेव, दार्चुला मोबाइल नं.: ९८४८८७५००२
६. नौगाड गाउँपालिका केन्द्र: होपरीगाड जनसंख्या: १५,५२८ ( रा.ज. २०७८ अनुसरा ) क्षेत्रफल: १६४.४६ वर्ग कि.मि. वडा संख्या : ६
साविकको इयरकोट, खार, सिप्टी र धुलिगडा गरी ४ वटा गा.वि.स. लाई समायोजन गरेर नौगाड गाउँपालिका मिति २०७३/११/२५ गते घोषणा भएको गाउँपालिका हो । यस गाउँपालिकाको पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका संग सिमाना जोडिएको छ ।
(वडा नं. १ - ६१.४९ वर्ग कि.मी., वडा नं. २- २३.७८ वर्ग कि.मी., वडा नं. ३- १४.२२ वर्ग कि.मी., वडा नं. ४- ३०.०७ वर्ग कि.मी., वडा नं. ५- ११.७५ वर्ग कि.मी. र वडा नं. ६- ३८.९६ वर्ग की.मी.) ओगटेको छ ।
जसमध्ये महिलाको संख्या ८०२८ र पूरुषको संख्या ७५०० रहेको छ त्यसैगरि कुल परिवारको संख्या २९७५ र कुल साक्षरता दर ७४.२% (महिला साक्षरता दर ६५% र पुरष साक्षरता दर ८४.२%) रहेको छ।
सम्पर्क विवरण ई मेल: info@naugadmun.gov.np naugaad@gmail.com फोन नं : 9759503772 9858784584 प्रवक्ता 9868827323 सूचना अधिकारी 9847522552
७. मार्मा गाउँपालिका केन्द्र: लटिनाथ जनसंख्या: १५,१२४ क्षेत्रफल: २०८.०६ वर्ग कि.मि. वडा संख्या : ६
वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर (२–९) र सितोला १-४ र ९ ) लार्इ एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला , पश्चिममा दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका , उत्तरमा अपिहिमाल गाउँपालिका र दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका रहेका छन।
मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण ( जोशी,पन्त, ओझा,भट्ट ), ठकुरी (सिंह) , क्षेत्री ( बिष्ट , महता , सितोली , डडाल, कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी ), दलित (टमटा, ओड, दमाइ, तिखाल, नेपाली, लुहार , कामी , वि.क. आदी ) तथा अन्य जात जातीहरुका मानिस बसोबास गर्दै अएका छन ।
बनावट बनावट भिरालो जमिन , समथर जमिन , उच्चा डाँडाहरु तथा विभिन्न पानीका मुहानहरु पनि रहेका छन । जस्तै चौलानी नदी , पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला , तपोबन मर्मतीमा मेलेगाड खोला , शेरी मा रहेको कचुलीगाड खोला ,च्युरानीको दोगाडा खोला आदि पानीका श्रोतहरु रहेका छन । यस मार्मा गाउँपालिकामा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि रहेका छन । जस मध्ये मार्मा गाउँपालिकाको सबै भन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलार्इमाण्डौ) लटीनाथ , मटेलाको मस्टा मन्दिर ,शेरीको क्वाकट्टे मन्दिर , गुल्जरको दुर्गाभवानी मन्दिर जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि यस मार्मा गाउपालिका भित्र रहेका छन । भोगौलिक हिसाबले विकट रहे पनि यो मार्मा गाउँपालिका प्राकृतिक रुपमा एकदमै सुन्दर र रमणीय ठाउँ रहेको छ ।
सम्पर्क विवरण मार्मा गाउँपालिका गाउँकार्यपालिकाकाो कार्यालय लटिनाथ,दार्चुला वेब साइट: marmamun.gov.np ईमेलः rm.marma.darchula@gmail.com info@marmamun.gov.np सम्पर्कः 9769876101प्रवक्ता 9868704065
८. लेकम गाउँपालिका केन्द्र: रातामाटा जनसंख्या: १३,७४३ क्षेत्रफल: ८३.९८ वर्ग कि.मि. वडा संख्या : ६
लेकम गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।२७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा शरमौली, लाली, खरकडा र रिठाचौपाटा गाविसहरू यसमा गाभिएका थिए । महाकाली र चमेलिया नदीसँग जोडिएको संभावनायुक्त गाउँपालिका हो ।
लेकम गाउँपालिका सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ९ ओटा स्थानिय तह मध्ये एक हो | साबिकका ४ गा बि स खराकडा,लाली ,रिठाचौपता र सर्मोली मिलेर बनेको यो गाउँपालिका देवाभुमिको नामले प्रचलित छ |
सम्पर्क विवरण वेबसाइटको लिंक: www.lekammun.gov.np E-mail Address lekam.rmun@gmail.com,info@lekammun.gov.np, ito.lekammun@gmail.com 986-6520989,18105000228
९. व्याँस गाउँपालिका केन्द्र: सुनसेरा जनसंख्या: ९,६६८ क्षेत्रफल: ८३९.२५ वर्ग कि.मि. वडा संख्या : ६
व्याँस गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।२७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा हुती, ब्याँस, राप्ला, सुनसेरा र धौलाकोट गाविसहरू यसमा गाभिएका तयिए । तिब्बती सीमा नजिक रहेको, व्यापार, संस्कृति र प्राकृतिक विविधताले सम्पन्न हिमाली गाउँपालिका।
सम्पर्क विवरण ब्याँस गाउँपालिका फोन नं 9858776565 web site : -www.vyansmun.gov.np Official e mail:- infovyansrm@gmail.com प्रवक्ता ब्याँस गाउँपालिका फोन नं. ९८४२२३२०५०
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुला । कृष्ण बोहरा व्यास , अशोक बोहरा
नोट :- सन्दर्भ समाग्रिमा कुनै बिषय बस्तुमा सुधार गर्नु पर्ने वा सच्याउनु पर्ने भएमा तपाईहरुले त्यो अबसर प्रदान गर्नुहुनेमा विस्वास लिएका छाै ।